Logo

समाचार

गृहमन्त्री लेखक र चीनका राजदूत चेन सङबीच भेटवार्ता



काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेको छन् । सोमबार दिँउसो सिंहदरबारस्थित गृहमन्त्राल पुगेर राजदूत सङले गृहमन्त्री लेखकसँग बधाई ज्ञापनसहित भेटवार्ता गरेका हुन् ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । यस्तै उनले नेपालको पूर्वधार विकास लगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए । साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ ।

राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्‍वास व्यक्त गरे । नेपाल र चीनबीच साँस्कृतिक लगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने उनले विश्वास व्यक्त गरे ।

यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरुको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पारेका थिए । साथै अध्यागमन प्रशासनलाई सुदृध बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उनको भनाइ थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १६:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।