Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले भने- २० वर्षको आसपासमा विवाह गर्नू, छिटो सन्तान जन्माउनू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०/३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् ।

‘४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै ओलीले अघि भने,‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन्, त्यसो भएपछि जनसंख्या झन् घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन् ।’

उनले युवाले फ्युचर जेनेरसन (भावी पुस्ता) बारे कुरा गर्ने गरेको भन्दै प्रश्न गरे,‘अनि पैसाले फ्युचर हुन्छ ? फ्युचरका लागि बालबच्चा चाहियो । विदआउट चिल्ड्रेन कसरी हुन्छ फ्युचर ?’

प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट पारे ।

सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयहरूलाई सरकारले कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने जनाए ।

 

प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार  ५ : ३० बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।