Logo

प्रमुख समाचार

जाजरकोटका भूकम्प प्रभावितलाई ३ अर्ब रुपैयाँ निकासा गरिएको छ : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरूका लागि ३ अर्ब १६ करोड रुपैयाँ निकासा गरिसकेको बताएका छन् ।

बिहीबार गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरका क्रममा सांसद कृष्णबहादुर रोकायाले गत कात्तिक १७ गते गएको जाजरकोट भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै गृहमन्त्रीसँग जवाफ मागेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री लेखकले ८६ हजार ६ सय ९० सेवाग्राहीका लागि हालसम्म राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपत् व्यवस्थापन समितिको कोषमा ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको जानकारी गराएका हुन् ।

उनले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीमध्ये ९ हजार ५८४ लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् २३ करोड ९६ लाख रुपैयाँ निकासा भएकोमध्ये बझाङका १२ सय ५५ जना लाभग्राहीले ३ करोड १३ लाख ७५ हजार रुपैयाँ दोस्रो किस्ता समेत बुझिसकेको जानकारी गराए ।

उनले अन्य जिल्लामा दोस्रो किस्ता बापतको रकम वितरण भएको प्रतिवेदन प्राधिकरणमा आउने क्रममा रहेको बताए । अस्थायी आवास निर्माणका लागि करिव ९० करोड ९४ लाख ७५ हजार रुपैयाँ जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषहरुमा मौज्दात रहेको उनले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट २ अर्ब २५ करोड ५ लाख २५ हजार रुपैयाँ स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको र स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ता बापत १ अर्ब ९२ करोड, ५८ लाख २५ हजार रुपैयाँ लाभग्राहीको खातामा निकासा भइसकेको उनले बताए ।

प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार  ४ : १६ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।