काठमाडौं । चर्चीत सिरिज ‘बिच्च बिच्चमा’ अन्त्य गर्ने घोषणा गरेका गायक दुर्गेश थापाले अन्तिम शृङ्खला स्वरूप ‘बिच्च बिच्चमा ७’ सार्वजनिक गरेका छन् । दुर्गेशले शुक्रबार सार्वजनिक ‘रिसको बेलामा तीजको बेलामा’लाई तीज गीतको स्वरूपमा ल्याएका छन् ।
यो तीजबाट ‘बिच्च बिच्चमा’ सिरिजलाई बीट मार्ने घोषणा गरेका थापाले अन्तिम शृङ्खलालाई जनचेतनामूलक र सन्देशमूलक बनाएको भनेका छन् । उक्त गीतका शब्द तथा भिडियोमा समावेश दृश्यहरूले नारीप्रतिको सम्मान बोल्छन् ।
आफ्नै निर्देशनमा भिडियो ल्याएका दुर्गेशले एक विदुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको वकालत गरेका छन् ।
मौसम हिमालीको नृत्य निर्देशनमा बनेको उक्त गीतको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामा फिचर्ड छन् । दुर्गेश र पेमा यसअघि ‘झुम्का हरायो’ बोलको गीतमा एकसाथ देखिएका थिए ।
यो गीतमा शब्द, संगीत, स्वर दुर्गेश एक्लैको रहँदा एरेञ्ज शाहष शाक्यको र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोमा छायांकन नवराज उप्रेतीको छ ।
‘बीच्च बीच्चमा’ सिरिज सातौं शृङ्खलासम्म आउँदा दर्शक श्रोता तथा शुभचिन्तकहरूबाट प्राप्त प्रेम र स्नेहप्रति कृतज्ञ छु, दुर्गेशले भने ‘यहाँहरूले देखाउनु भएको मर्गदर्शनलाई सिरोधार्य गर्दै आगामी दिनमा थप उत्कृष्ट र दर्शक अपेक्षित कोशेली ल्याउन प्रतिवद्ध छु ।’
प्रतिक्रिया