काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । विश्वविद्यालय कार्यकारी परिषदको शनिबार बसेको बैठकले ८ संकायमा डीन नियुक्त गरेको हो ।
छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।
प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।
त्रिविकाे शिक्षाशास्त्रमा संकाय प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापकमा ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहोनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रमा प्रा.डा. द्विविनन्द ढकाल, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा. सुशीलबहादुर बज्राचार्य नियुक्त भएका छन् ।
त्यस्तै, त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ ।
शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मिनराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।





















प्रतिक्रिया