काठमाडाैं । ब्लकबस्टर नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका छन् । पौडेल आफैँले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन् ।
थिम पोस्टरमा घुर्मैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएकी देखिन्छिन् । डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ। परपरसम्म क्षितिज छ ।
निर्माण पक्षका अनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।
बाबु श्रेष्ठको डिओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। चलचित्रमा संगीत रिदम कँडेल र आशिष अविरलको रहनेछ ।
सरोज पौडेलले निर्देशन गरेको ‘पूर्णबहादुरको सारंगी’ले नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै कमाउने चलचित्रको रेकर्ड राखिसकेको छ । करिब ५० करोड रुपैयाँ नेपाली बक्सअफिसबाट मात्रै कलेक्सन गरेको छ ।





















प्रतिक्रिया