Logo

प्रमुख समाचार

गोलाप्रथाबाट विद्यार्थी भर्ना रोक्न माग गरिएको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा



काठमाडौं । राजधानीका केही स्कुलहरूले गोलप्रथाबाट विद्यार्थी भर्ना गर्दै आएकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सुजाता केसीले सेन्टमेरिज स्कुललगायतलाई प्रतिवादी बनाएर दायर गरेको रिटको पेसी शुक्रबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिएको हो ।

उक्त रिट बिहीबार दर्ता भएको थियो भने रिटमा आगामी शैक्षिक सत्रमा योग्यता प्रणालीका आधारमा भर्ना लिन आदेश माग गरिएको छ ।

सेन्ट जेभियर्स, सेन्ट मेरिज, ललितपुर महानगरपालिका, महानगरको शिक्षा शाखा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश र शिक्षा तथा खेलकुद मन्त्रालयलाई रिटमा विपक्षी बनाइएको छ ।

गत वर्ष गोलाप्रथाबाटै भर्ना लिइएकाले यस वर्ष यी विद्यालयले उक्त प्रक्रिया बन्द गर्नुपर्ने माग निवेदकको छ । सूचना निकालेर गोलाप्रथाबाट भर्ना लिँदा यसले विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता तथा योग्यताको परीक्षण नगर्ने दाबी निवेदकको छ । यसबाट विद्यार्थीको भविष्यमाथि पनि खेलबाड हुने र शिक्षाको मूल मर्मविपरीत भएकाले यो प्रथा हटाउनुपर्ने माग गरिएको छ ।

‘गोलाप्रथा प्रणालीले बालबालिकाको मानसिक र भावनात्मक विकासमा गम्भीर नकारात्मक असर पार्दछ । यसले विद्यार्थीको प्रतिभा र आवश्यकतालाई ध्यान दिँदैन । आगामी दिनहरूमा पनि योग्य विद्यार्थीहरू अवसरबाट वञ्चित हुन सक्छन्, जब कि कम योग्य विद्यार्थीहरू भर्ना हुन सक्ने प्रबल सम्भावना हुन्छ,’ निवेदकको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार ११:३७   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।