Logo

अर्थ

विपी राजमार्गमा सुरुङ मार्ग बनाउने जापानको प्रस्ताव, सडक विभाग अर्को हप्ता ठेक्का निकाल्दै



काठमाडाैं । सडक डिभिजन कार्यालयले टेण्डर आह्वानको तयारी गरिरहँदा विपी राजमार्ग पुनर्निर्माणमा जापानले पनि चासो देखाएको छ। जापानले सुरुङ मार्ग निर्माणको प्रस्ताव गरेको छ।

जापानी टोलीले मंगलटार क्षेत्रको मोडिएको डाँडो छोडेर माथिल्लो क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रस्ताव गरेको हो। त्यसका लागि जापानी प्राविधिकहरूले अध्ययन थालेका छन्। जापानी सहयोग नियोग जाइकाको परामर्शदाता निकोनले बाढीले क्षतिग्रस्त क्षेत्रमा सुरुङ मार्ग बनाउन अध्ययन थालेको जानकारी दिएको छ।

तर, सडक विभाग भने अर्को हप्ता विपी राजमार्गको ठेक्का निकाल्ने तयारीमा रहेको स्रोतले जनाएको छ। सुरुमा दुई खण्डमा ठेक्का लगाउने भनिए पनि अहिले चार खण्डमा विभाजन गरेर ठेक्का लगाउने तयारी भइरहेको बुझिएको छ। अहिले सडक विभागले ठेक्का आह्वान गरे पनि यो वर्षायामअघि पुनर्निर्माण कार्य सुरु नहुने निश्चित भएको छ।सडक विभागका एक प्राविधिकका अनुसार ठेकेदार छनोट असारअघि सकिँदैन।

अहिले जापानले सुरुङ मार्गको प्रस्ताव गरिरहदा ठेक्का प्रक्रिया नरोकिने सडक विभागले स्पष्ट पारेको छ। सडक विभागका एक अधिकारीले भने, “हामी पुनर्निर्माणको प्रक्रिया अघि बढाउँछौं। अध्ययनले सम्भाव्यता देखाएमा जापानले सुरुङ मार्ग बनाउनेछ। हामी सडक निर्माणलाई निरन्तरता दिन्छौं।”

ठूलो कमिसनको सेटिङ मिलिसकेको भएकाले सडक विभाग जुनसुकै हालतमा विपी राजमार्ग पुनर्निर्माण गर्ने पक्षमा देखिएको छ। सेटिङमा ठेक्का दिएर विपी राजमार्ग पुनर्निर्माणमा ठूलो कमिसनको खेल भइरहेको विषय हामी पटकपटक उठाउँदै आएका छौँ । सडक विभागले गरेको काम जताततै लथालिङ्ग भएको देख्दा विपि राजमार्गको पनि उहि अबस्था हुनसक्नेमा चिन्ता लिन थालिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ११:४१   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।