Logo

प्रमुख समाचार

आरुष आयुर्वेदको अवैध धन्दा: एचआईभी पीडितको स्वास्थ्यसँग खेलवाड गर्दै करोडौँ अशुली, प्रशासन मौन



काठमाडौं । राज्यको हरेक निकायको सहज पहुँच र उपस्थिति रहेको ललितपुर जिल्ला जहाँ वर्षौंदेखि आयुर्वेदिक उपचारको नाममा ठगि भइरहेको छ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा अबैध रुपमा संचालित आरुष आयुर्वेदिक क्लिनिकले मानव स्वास्थ्यसंग गम्भीर खेलवाड गर्दा समेत सम्बन्धित निकाय मौन छ ।

घरेलु तथा साना उद्योग कार्यालयमा २०७६ साल कात्तिक ६ गते दर्ता गरिएको उक्त क्लिनिकले स्वास्थ्यसम्बन्धी कुनै पनि आधिकारिक अनुमति नलिएको पाइएको छ ।

उक्त क्लिनिकका सञ्चालक अन्दाजी ७५ वर्षीय वृद्ध कृष्णप्रसाद पोख्रेल हुन्। उनी कुनै पनि रूपमा स्वास्थ्य क्षेत्रमा दक्ष व्यक्ति नभएको र औषधि तथा स्वास्थ्य सेवा प्रवाह गर्ने कानुनी योग्यता नपुगेका व्यक्ति हुन्। कानुनअनुसार स्वास्थ्य सेवा दिने कुनै पनि संस्था दर्ता गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । तर, आरुष आयुर्वेदिक क्लिनिक ले यस्तो कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको छ ।

अझ रोचक कुरा त के छ भने उक्त क्लिनिक सञ्चालित सटरमै आशुष आयुर्वेद औषधालय नामक अर्को व्यवसाय पनि सञ्चालन भइरहेको छ । नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर ११ निवासी लियन पौडेल को नाममा दर्ता गरिएको यो औषधालय वास्तवमा कृष्णप्रसाद पोख्रेलकै नियन्त्रणमा रहेको पाइएको छ। उक्त औषधालय संचालन गरेर सर्वसाधारणबाट ठगि गरेको रकम पौडेल र पोख्रेलले बाढ्ने गरेको श्रोतको दावी छ ।

पौडेल र पोख्रेलको संलग्नता एड्स , क्यान्सर , हेपाटाइटिस जस्ता प्राण घातक रोग निको पार्ने दावी सहित हजारौं रुपैया असुल गरेर काठको धुलो जस्तो देखिने बस्तु बिरामीलाई सेवन गर्न दिइन्छ । उक्त बस्तुमा औषधिय गुण छ कि छैन , उक्त बस्तु सेवन गर्दा मानव स्वास्थ्यलाई सकारात्मक वा नकारात्मक असर पर्छ , उक्त बस्तुमा के के मिसाईएर तयार पारिएको हो , उक्त बस्तुको उत्पादन मिति र प्रयोग समाप्ति मिति, बस्तुको मूल्य जस्ता महत्त्वपूर्ण जानकारी सहितको लेवल अनिवार्य राख्नुपर्ने कानुनी प्रावधानको खिल्ली उडाउदै बिरामीहरुलाई बिश्वासमा पारेर दैनिक लाखौं रुपैया ठगिदै आएको पाइएको छ ।

कानुनी रूपमा औषधालय सञ्चालन गर्न फार्मेसी काउन्सिलबाट अनुमति लिनुपर्छ । साथै, औषधि बिक्री तथा वितरण गर्दा सरकारको नियमनमा रहनुपर्ने हुन्छ। तर, सो औषधालय कानुनी प्रक्रिया पूरा नगरी नियमविपरीत सञ्चालित हुँदै आएको पाइएको छ ।

नेपालको औषधि ऐन, २०३५ अनुसार कुनै पनि व्यक्ति वा संस्थाले अनधिकृत रूपमा औषधि विक्री–वितरण गर्न पाउँदैन। साथै, स्वास्थ्य सेवासम्बन्धी व्यवसाय सञ्चालन गर्दा स्थानीय तह, स्वास्थ्य मन्त्रालय वा सम्बन्धित नियामक निकायबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान छ। तर उक्त फार्मेसी र क्लिनिक कानुनी राज्यको खिल्ली उडाउदै अबैध ढंगले निर्वाध रुपमा संचालन हुँदै आएको छ ।

कानुनी राज्यको खिल्ली उडाउदै प्रशासनको नाकैमुनी मावन स्वास्थ्यमा गम्भीर खेलवाड गरेर आयुर्वेदिक उपचारको नाममा दैनिक लाखौं रुपैया ठगी गर्दासम्म पनि सम्बन्धित निकाय मौन बस्नु आफैमा शंकास्पद देखिन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार १९:१६   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।