काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम गरी काठमाडौं फर्किंदा राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।
पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् ।
पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले तीनकुने र गौशालामा जम्मा भएर जुलुससहित विमानस्थल पुग्ने कार्यक्रम तय भएको जानकारी दिए । काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरबाट र काठमाडौँ (कागेश्वरी मनोहरा पेप्सीकोला, कीर्तिपुर नगरपालिका, चन्दागिरी, दक्षिणकाली, नागार्जुन)बाट आउनेहरूलाई तीनकुनेमा भेला हुने आग्रह गरिएको उनले बताए ।
त्यसैगरी नुवाकोट, धादिङ र काठमाडौँको टोखा, गोकर्णेश्वर र तारकेश्वरबाट आउनेहरूलाई गौशालामा जम्मा हुन भनिएको छ । जोसँग जुन सवारी साधन छ त्यही प्रयोग गरेर तीनकुने र गौशला पुग्न पार्टीले आग्रह गरेको छ ।
राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।
राजावादीहरुले जुलुससहित पूर्वराजाको स्वागत गर्ने तयारी गरेपनि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।




















प्रतिक्रिया