काठमाडाैं । नेपालले भारतसँग साँझको समयका लागि २३० मेगावाट बिजुली माग गरेको छ ।
सुख्खायाम सुरू भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव हुन थालेपछि सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको मन्त्रालको भनाइ छ । उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको उल्लेख छ ।
हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेका छन् । भारतबाट हाल दैनिक ७०० मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ । जसका कारण उद्योगहरू प्रभावित भएका छन् ।
ऊर्जा मन्त्री दीपक खड्काले नेपालमा जलविद्युत उत्पादन सुख्खायाममा घट्ने भएकाले साँझको समयमा बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरिएको बताए । ‘घरायसी उपभोक्तासँगै औद्योगिक क्षेत्रलाई पनि सहज बनाउने प्रयासस्वरूप भारतलाई अनुरोध गरिएको छ । सकारात्मक संकेत देखिएकाले निकट भविष्यमा समस्या केही हल हुने विश्वास गरिएको छ,’ उनले भने ।
परराष्ट्र मन्त्री डा. आरजु राणाले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति सहज बनाउन अनुमति दिन आग्रह गरिसकेको पनि मन्त्रालयले जनाएको छ ।
भारतले साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरेमा नेपालका उद्योगहरूलाई ठूलो राहत पुग्ने विश्वास मन्त्रालयको छ ।
प्रतिक्रिया