Logo

अर्थ

इसेवा र सामाजिक सुरक्षा कोषबीच सम्झौता



काठमाडाैं । डिजिटल रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यस सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाबीच हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार विदेशमा रहेका नेपालीहरूले अब विश्वभर रहेका इसेवा मनी ट्रान्सफरका अन्तर्राष्ट्रिय साझेदारहरू मार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्नेछन् ।

यस सम्झौताले आप्रवासी नेपालीहरूका लागि नेपालकै सामाजिक सुरक्षा प्रणालीमा योगदान गर्ने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउनेछ ।

इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, ‘हामी नेपाली समुदायलाई सामाजिक सुरक्षामा सहभागी गराउन पाउँदा अत्यन्तै खुशी छौं । अब विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्नेछन् । यस साझेदारीले प्रविधिको सहायताले भुक्तानी प्रक्रियालाई सरल बनाउनुका साथै विदेशमा रहेका नेपालीहरूको सामाजिक सुरक्षामा पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं ।’

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इसेवा मनी ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरू मार्फत रेमिटेन्स भुक्तानी प्रणाली सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १६:५१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।