Logo

अर्थ

सिन्धु विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । सिन्धु विकास बैंकको १४औँ र १५औँ वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । चैत्र ८ गते शुक्रबार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलको मिराबल होटल एण्ड रिसोर्टमा सम्पन्न भएको बैंकको साधारण सभाले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को वित्तिय विवरण सर्वसम्मतीले पारित गरेको छ ।

गत आर्थिक वर्षमा विविध कारणले साधारण सभा गर्न नसकेको बैंकले दुई वर्षको वार्षिक साधारण सभा एकै साथ सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरेको छ, भने स्वतन्त्र संचालकमा भरत बहादुर कार्कीको नियुक्तीलाई अनुमोदन गरेको छ ।

उक्त साधारण सभाको प्रस्ताव अन्तर्गत नेपाल राष्ट्र बैंकले क्षेत्रियस्तरको बिकास बैकको लागि तोकेको न्यूनतम चुक्ता पुंजी एक अर्ब बिस करोड हुनुपर्ने ब्यवस्था बमोजिम बैंकको हालकायम रहेको चुक्ता पूँजीको ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतीले पारित गरेको छ । नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायहरुले स्वीकृति प्रदान गरे पश्चात मात्र उक्त हकप्रद शेयर जारी गरिने गरि उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

साथै उक्त साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ती सम्बन्धि कार्य गर्न सक्ने गरि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतीले पारित गरेको छ । सिन्धु बिकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरि ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रियस्तरको विकास बैंक हो । बैंकले हाल २६ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा दिईरहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १०:४०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।