Logo

अर्थ

एक महिनामै दर्ता भए अपराधका ४४६८ मुद्दा, बैंकिङ कसुरका सबैभन्दा धेरै



काठमाडौं । फागुनमा देशभर ४ हजार ४ सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका ११२७ (२५.२२ प्रतिशत) रहेका छन् ।

काठमाडौं उपत्यकामा अपराधका घटना बढी हुनुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए ।

बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन् । त्यसैगरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका पाँच सय २१ अपराधका मुद्दा दर्ता भएका छन् ।

आत्महत्यासम्बन्धी अपराधका ५०१, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८, ठगीसम्बन्धी १६२, सवारी ज्यान मुद्दा १५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

काठमाडौं उपत्यकामा १३३७ मुद्दा दर्ता भएका प्रवक्ता आचार्यले बताए । मधेश प्रदेशमा ७१५, कोशी प्रदेशमा ६६५, लुम्बिनी प्रदेशमा ६१२, बागमतीमा ३७६, सुदुरपश्चिममा २७९, गण्डकी प्रदेशमा ३२३ तथा कर्णाली प्रदेशमा १६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार ११:०८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।