काठमाडाैं । तीनकुनेमा शुक्रबार हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा लगायतलाई आइतबार अदालत उपस्थित गराउने तयारी छ ।
पक्राउ परेका राप्रपाका उपाध्यक्ष मिश्र, महामन्त्री राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनालाई अदालत उपस्थित गराउने तयारी गरेकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
शनिबार अदालत बन्द हुने भएकाले आइतबार उनीहरूलाई बाँकी प्रक्रियाका लागि अदालत उपस्थित गराउन लागिएको हो ।
प्रहरीले शनिबार उनीहरूलाई कुन-कुन मुद्दा चलाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो ।
उनीहरूलाई ‘राज्यविरूद्धको अपराध कसुर’मा मुद्दा चलाउन सकिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । त्यससँगै ज्यान मार्ने उद्योग, आगजनी, संगठित अपराध, हिंसात्मक गतिविधि कसुर आकर्षित हुने र तिनै कसुरमा मुद्दा चलाउन सकिने विषयमा छलफल भएको हाे ।
शुक्रबार दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनपछि तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड र आगजनी भएको थियो ।




















प्रतिक्रिया