Logo

प्रमुख समाचार

तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिन सरकारलाई संसदीय समितिको निर्देशन



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा सभा, धर्ना, विरोध प्रदर्शनजस्ता कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ ।

समितिले तीनकुने घटनाका दोषीउपर आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

समितिको आज बसेको बैठकले १५ चैतमा तीनकुने क्षेत्रमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा जनधनको क्षति भएको थियो । त्यसबारे गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापा र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँगको छलफलपछि समितिले अब त्यसक्षेत्रमा कार्यक्रम आयोजना गर्ने अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अति प्रज्ज्वलनशील इन्धन भण्डारण केन्द्र रहेको तथा तीनकुने नजिकै संसद् भवन, विभिन्न सञ्चारगृह रहेकाले पनि त्यस क्षेत्रमा सभा, धर्ना तथा प्रदर्शन आयोजना गर्न दिन नहुने सांसदहरूको भनाइ थियो ।

समिति सभापति रामहरि खतिवडाले बैठकको अन्त्यमा निर्णय सुनाउँदै तीनकुने आसपासका क्षेत्रमा सभा, धर्ना, विरोध प्रदर्शनजस्ता कार्यक्रम गर्न अब अनुमति नदिन सरकारलाई निर्देशन दिए । खतिवडाले तीनकुनेमा गत १५ चैतमा राजावादीहरूले विरोध प्रदर्शन गर्दा भएको घटनाको भत्र्सना गर्ने निर्णय भएको पनि जानकारी दिए ।

समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई साधन–स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार १६:५१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।