काठमाडौं । झापाबाट भारत हुँदै फरार भएका मेडिकल कलेजका सञ्चालक तथा राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार उनलाई भारतको आसाम राज्यबाट झापा हुँदै काठमाडौं ल्याउन विशेष प्रहरी टोली सीमा क्षेत्रमा पुगिसकेको छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा संयुक्त जनआन्दोलन परिचालन समितिद्वारा आयोजित प्रदर्शनमा हिंसा फैलिएपछि प्रसाईं फरार भएका थिए । उक्त प्रदर्शनमा दुई जनाको मृत्यु हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । घटनापछि प्रसाईंले आफैं गाडी चलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप समेत लागेको छ ।
प्रहरी स्रोतका अनुसार उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत प्रवेश गरेका थिए । त्यसयता नेपाल प्रहरीका विशेष टोलीले भारतीय पक्षसँग समन्वय गरी खोजी तीव्र बनाएका थिए । अन्ततः प्रसाईंले आफैं भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरिएको छ । सामाजिक सञ्जालमा उनका सचिवालयबाट जारी एक पोस्टमा उल्लेख गरिएको छ, “दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाका लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ।”
प्रसाईंलाई काठमाडौं ल्याएपछि संगठित अपराध, राज्यविरुद्धको कसुर, सार्वजनिक हिंसा तथा ज्यान मार्ने उद्योग जस्ता गम्भीर अभियोगमा अनुसन्धान अघि बढाइनेछ । प्रहरीका अनुसार उनले आन्दोलनका क्रममा प्रहरी अधिकारीमाथि ज्यान लिने प्रयास गरेकाले सो अनुसार मुद्दा दर्ता गरिनेछ ।




















प्रतिक्रिया