Logo

प्रमुख समाचार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइपछि उक्त रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको हो ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश गरेको थियो । त्यसयता रवि भैरहवा कारागारमा छन् ।

सोही आदेश खारेजको माग गर्दै उनकी पत्नी निकिता पौडेलले आइतबार रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।

यसअघि, माघ १३ गते रुपन्देही जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर सो आदेशविरुद्ध सरकारी वकिलको कार्यालय र लामिछाने पक्ष दुवै उच्च अदालत गएका थिए । लामिछाने पक्षले साधारण तारेखमा रिहा माग गरेका थिए भने सरकारी पक्षले थुनामा राख्न आग्रह गरेको थियो ।

रविले स्वयंले पनि चैत २२ गतेको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका छन्। उक्त निवेदनमा सर्वोच्चले हालै उच्च अदालत बुटवल र भैरहवा जिल्ला अदालतबाट भएका आदेशहरूको डिजिटल कैफियत माग गरिसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार १४:५७   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।