काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय गर्मी बढ्दै गएका कारण तातो हावाको लहर चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
मौसमविद् रोजन लामिछानेका अनुसार विशेष गरी तराईका विभिन्न जिल्लाहरू मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा—४० डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ । ‘अहिलेको अवस्थामा तापक्रम अझै दुई दिनसम्म बढ्ने देखिएको छ,’ उनले भने, ‘तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाउनुहोला।’
नेपालमा पछिल्लो समय तातो हावाको लहर (हिट वेभ) हुनसक्ने सम्भावना बढेर गएको छ ।
स्वास्थ्यमा गम्भीर असर
तातो हावाको लहरका कारण शरीरमा विभिन्न किसिमका असरहरू देखिन सक्छन् । सुरुमा चिलाउने, साना बिमिरा देखिने, घाउ हुने, खटिरा बन्ने, खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोससमेत हुन सक्ने लक्षणहरू देखिन्छन्। यसबाहेक रक्तचाप घट्ने, डिहाइड्रेसन हुने, टाउको दुख्ने, वान्ता आउने र अधिक असर परेमा मृत्यु हुने खतरा समेत रहन्छ ।
विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा शारीरिक रूपमा कमजोर व्यक्तिहरूमा यो अझै घातक हुन सक्ने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा शीतल ठाउँमा बस्नु, प्रशस्त पानी पिउनु र घाममा अनावश्यक रूपमा ननिस्कनु महत्वपूर्ण हुन्छ ।
बच्ने उपायहरू
तातो हावाको लहरबाट जोगिनका लागि निम्न उपायहरू अपनाउन महाशाखाले सुझाव:
दिउँसोको समयमा बाहिरको काम नगर्नु
शीतल ठाउँमा बस्नु
नियमित रूपमा पानी पिउनु
घाममा हिँड्दा टोपी वा छाता प्रयोग गर्नु
आवश्यक परेमा जीवनजल खुवाउने
असर देखिएमा चिसो ठाउँमा राख्ने, मसाज गर्ने र चिकित्सकको निगरानीमा लैजानु
तातो हावाको लहर अब मौसमको सामान्य अवस्था बन्न सक्ने भन्दै मौसमविद्हरूले सतर्क रहन र समयमै सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।




















प्रतिक्रिया