काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो ।
मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ ।
बागमती प्रदेशका काठमाडौँ, ललितपुर र चितवन लगायतका स्थानहरूमा आइतबार असिना वर्षा पनि भएको छ । कोशी, मधेश, र बागमती प्रदेशमा सोमबार र मंगलबार पनि हल्का वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ । मंगलबार लुम्बिनी प्रदेशमा पनि वर्षाको सम्भावना छ भने उच्च हिमाली भेगमा हल्का हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।
अत्यधिक गर्मी बढेका बेला आइतबारदेखि सुरु भएको बदली र वर्षाले गर्मीबाट केही राहत पुगेको छ । वर्षा भएका स्थानमा माटोको चिस्यान हल्का बढेकाले किसानहरुलाई राहत मिलेको छ ।
तर, मौसमविद्ले मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । विशेष गरी बिहान र बेलुका खुलेको आकाशमा आकस्मिक मेघगर्जन हुने सम्भावना उच्च रहेको हुँदा खुलेआम स्थानमा नबस्न र सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ ।




















प्रतिक्रिया