नेपाल राष्ट्रिय व्यवसायी महासंघले सिमानाकामा अत्यधिक भाडा वृद्धि तथा सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट सहजता नल्याए सिमानाकामा नै गएर धर्ना बस्ने चेतावनी दिएका छन् ।
महासंघका अध्यक्ष नरेस कटुवाल को हस्ताक्षर रहेका एक विज्ञप्ति निकाल्दै महासंघले यस्तो चेतावनी दिएको छ ।
१० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहज रुपमा नेपाल भित्रन नसकेपछि व्यावसायीलाई निकै नै कठिन भएको नरेस कटुवालले बताए ।
‘नाकामा देखिएका समस्याहरु समाधानका लागि नेपाल राष्ट्रिय व्यवसायी महासंघले परराष्ट्र मन्त्री, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीकासाथै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई लगायतलाई भेटेर ध्यानाकर्षण गराएको सर्वविदितै छ । महासंघको आवाज पछि केरुङ, तातोपानी नाका खुला गरियो । अहिले नाका खुला भनिए पनि मालवस्तुहरु सहज रुपमा नेपाल भित्रन सकेका छैनन् ।’ विज्ञप्तिमा उल्लेख छ‘
नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन् । तर दिनमा एक र बढीमा दुईवटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ । नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिदा नेपाल सरकारले कुटनितिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट छ । अत्यधिक भाडा वृद्धि तथा नाकाहरुमा रहेको सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकार समक्ष विनम्र अनुरोध गर्न चाहान्छौं । यदि यि समस्याहरु समाधान नहुने हो भने महासंघमा आवद्ध उद्योगी–व्यवसायीहरु नाकामै गएर धर्ना बस्न बाध्य हुने चेतावनी समेत दिन चाहान्छौं ।




















प्रतिक्रिया