Logo

अर्थ

मूल्य वृद्धि दर २.७७ प्रतिशत



काठमाडौं । नेपालमा मूल्यवृद्धि दर घटेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको तुलनामा चालु आर्थिक महँगी दर घटेको देखिएको हो ।

वैशाख मसान्त सम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत थियो । केन्द्रीय बैंकको तथ्यांकअनुसार १ वर्षमा मूल्य वृद्धि दर १.६३ प्रतिशतले घटेको हो ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।

१० महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ । यता, तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाहरुको ३.१६ प्रतिशतले बढेको छ । साथै, समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.६१ प्रतिशतले बढेको छ ।

 

 

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार १३:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।