विराटनगर । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा नगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ । श्रमदानमार्फत गरिएको कार्यको भुक्तानी विषयलाई लिएर प्रमुख र उपप्रमुखबीच चर्काचर्कीसँगै दुई पक्षबीच झडपको स्थिति उत्पन्न भएको हो ।
‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले श्रमदानमार्फत १७ लाख ४० हजार रुपैयाँ बराबरको काम गरेपछि त्यसअनुसार नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी माग गरेको थियो । उक्त कार्यको डोर हाजिर बनाएर उपभोक्ता समिति गठन गरी भुक्तानी मागिएपछि उपमेयर बेघाले रोकिदिएका थिए ।
बेघाले नगरको सवारी साधन श्रमदानमा प्रयोग भएको भन्दै चाबीसमेत खोस्न लगाएका थिए। यत्तिकैमा दुई पक्षबीच सोमबार सामान्य विवाद भएको थियो भने मंगलबार भने हात हालाहालको स्थिति नै बनेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले स्थिति तनावपूर्ण बनेपछि दुबै पक्षलाई नगर परिसरबाट हटाइएको जानकारी दिए ।
मंगलबार दिउँसो २ बजेका लागि तय गरिएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षमा साम्पाङ र बेघाबीच वादविवाद भएको थियो । उक्त सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका मेयर समर्थकहरू नगरपालिकामा आएका थिए ।
साम्पाङ पक्षले ‘विकासविरोधी उपमेयर चाहिँदैन’ र ‘राजनीतिक दलहरू चाहिँदैन’ भन्ने नारासमेत लगाए । जवाफमा माओवादी पक्षधरहरूले ‘हर्क साम्पाङ मुर्दावाद’ र ‘गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन’ भन्दै नाराबाजी गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । दुई पक्षबीच दिउँसो धकेलाधकेल भएको थियो ।
नेकपा माओवादी केन्द्र धरान नगर कमिटीका अध्यक्ष उद्धव लिम्बूले मेयर साम्पाङले आफ्ना समर्थक उचालेर उपमेयरमाथि अभद्र व्यवहार गराएको आरोप लगाए ।
उता, मेयर साम्पाङले भने बाढीपीडित क्षेत्रमा आपतकालीन अवस्था हेरेर जनताको घर जोगाउन तत्काल श्रमदानमार्फत काम गर्नुपरेको जिकिर गरेका छन्।
श्रमदानमार्फत काम गर्ने नाममा नगरको स्रोत र साधनको दुरुपयोग भएको भन्दै उपमेयर पक्षले अवरोध गरेको हो भने, मेयर पक्षले राजनीतिक पूर्वाग्रहरूप्रति लक्षित अवरोध भन्दै असन्तोष प्रकट गरेका छन् ।
प्रतिक्रिया