काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ सरकार अघि बढेको बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्न ठूलो मात्रामा लगानीको आवश्यकता रहेको पनि बताए ।
लगानीको आवश्यकता पूरा गर्न सरकराले वैकल्पिक विकास, वित्त परिचालन सम्बन्धी विधेयक संसदमा पेश गरेको उनको भनाइ छ । ‘पछिल्लो समय विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृत्ति र संरचनागत समस्याहरूलाई समेत दृष्टिगत गरी सरकारले विकास वित्तको आवश्यकता पूरा गर्न उक्त विधेयक ल्याएको हो,’ अर्थमन्त्री पौडेलले भने ।
सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशिक सहायता परिचालन नीति २०८२ जारी गरिएको र लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानुन सुधार तथा परिमार्जन गरिएको उनले जानकारी दिए ।
पौडेलले अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्नुपर्ने उल्लेख गर्दै यसको लागि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधीकरण, बौद्धिक सम्पत्ति संरक्षण र प्रवर्द्धन, दुईपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता एवं प्रभावकारी कार्यान्वयन जोड दिन आवश्यक रहेको धारणा राखे ।




















प्रतिक्रिया