Logo

समाचार

जापान जाने प्रशिक्षार्थी कामदारमाथि लुटकाे सिन्डिकेट, कांग्रेस नेता शिवाकोटीद्धारा कारबाहीको माग



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान चाहने नेपाली प्रशिक्षार्थी कामदारमाथि भइरहेको शोषण र अनावश्यक झमेलालाई ‘गम्भीर सिन्डिकेट’को रूपमा चित्रण गर्दै तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।

शिवाकोटीले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा, भिसा आइसकेपछि फेरि भाषा परीक्षा लिने नाममा प्रशिक्षार्थी युवाहरूलाई होल्ड गर्नु र अलमल्याउनु गैरकानुनी मात्र नभई अमानवीय पनि भएको टिप्पणी गरेका छन् ।

‘जापानी पक्षले स्वीकार गरी भिसा जारी भइसकेपछि फेरि भाषा परीक्षा लिने प्रक्रिया पूर्णतः अस्वाभाविक, गलत र शोषणपूर्ण छ,’ शिवाकोटीले बताएका छन् ।

उनका अनुसार यो प्रक्रिया विगत १५ वर्षदेखि चल्दै आएको एउटा ‘सिन्डिकेट’को हिस्सा हो, जसले प्रशिक्षार्थी युवाको श्रम बेचेर नाफामुखी धन्दा सञ्चालन गरिरहेको छ। विशेषतः जाइका एल्मुना एसोसिएसन नेपाल जान सँग वैदेशिक रोजगार विभागको सहकार्यलाई उनले यसै सिन्डिकेटको नमूना भन्दै तत्काल तोड्नुपर्ने माग गरेका छन् ।

शिवाकोटीले यो अवस्थालाई केही समयअघि देखिएको ‘भिजिट भिसा प्रकरण’ जस्तै भयावह भएको उल्लेख गर्दै भने, ‘केही सीमित व्यक्ति र संस्थाले सरकारी संयन्त्रको नाम लिई निर्दोष युवाको भविष्य र परिवारको लगानीमाथि खेलवाड गरिरहेका छन्।’

उनले वैदेशिक रोजगार विभागलाई सुशासन र पारदर्शिता व्यवहारमा देखाउन आग्रह गरेका छन् । साथै, अनधिकृत संस्था तथा एजेन्टहरूलाई श्रम प्रक्रियाबाट हटाई कडा छानबिन तथा कारबाही थाल्नुपर्ने स्पष्ट माग राखेका छन् ।

‘हामीले आफ्ना युवाको श्रमको सम्मान गर्न नसक्ने हो भने देशभित्रको बेरोजगारीको समाधान खोज्ने नैतिक आधार पनि गुम्छ,’ शिवाकोटीले लेखेका छन् ।

 

 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ११:१३   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।