Logo

अर्थ

चम्पादेवीमा केवलकार बन्ने, संघई र विशाल ग्रुपको साझेदारीमा निर्माण हुने



काठमाडौं । चम्पादेवीमा केबलकार निर्माण हुने भएको छ । यस क्षेत्रमा संघई र विशाल समूहको मुख्य साझेदारी रहने केबलकारमा सुरुमा ६ अर्ब रुपैयाँ लगानी गरिने जनाइएको छ । जसमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको पनि लगानी रहने छ ।

शुक्रबार सार्वजनिक गरिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअनुसार बागमती प्रदेशअन्तर्गत कीर्तिपुर नगरपालिका–४ र दक्षिणकाली नगरपालिका–१ बीच ‘श्री चम्पादेवी इको–फ्रेण्डली कम्पनी प्रा.लि.’ मार्फत केबलकार निर्माण गरिनेछ ।

केबलकारसँगै डाँडामा रहेको मन्दिरलाई पुनर्निर्माण गरेर सुन्दर बनाउनुका साथै पर्यटकका लागि विभिन्न स्थलहरू निर्माण गरिने अग्रवाललले जानकारी दिए । सुरुमा ६ अर्ब रुपैयाँ हाराहारी लगानी रहने परियोजनामा विभिन्न चरणमा ठूलो लगानी गर्ने सोच रहेको समेत उनले बताए ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले एक सूचना प्रकाशित गर्दै आयोजनासम्बन्धी प्रतिवेदनमा चासो राख्ने सबै सरोकारवाला निकाय, समुदाय र व्यक्तिहरूलाई राय तथा सुझाव पेश गर्न आह्वान गरेको हो ।

प्रस्तावित आयोजनाका लागि २.७३ हेक्टर निजी स्वामित्वको जग्गा र ५ हेक्टर वन क्षेत्र प्रयोग गरिने उल्लेख छ । ‘मनोकेबल डिट्याचेबल गन्डोला’ प्रविधिको केबलकार प्रणाली प्रयोग हुने आयोजनाको कुल लम्बाइ २.०७५ किलोमिटर हुनेछ।

तल्लो स्टेसन दक्षिणकालीको बोसन र माथिल्लो स्टेसन कीर्तिपुरमा रहने व्यवस्था गरिएको छ। यात्रु चढ्ने केबिन ३४ वटा हुनेछन्, जसमा प्रत्येकमा १० जना यात्रु अटाउने छन् । सामान बोक्ने छुट्टै दुईवटा र मर्मतका लागि एउटा केबिन राखिनेछ। केबलकारको अधिकतम गति ६ मिटर प्रतिसेकेन्ड रहनेछ भने एकतर्फी यात्रा समय करिब ७ मिनेट हुनेछ ।

तल्लो स्टेसनमा तीनतल्ले मुख्य भवन, दुईपांग्रे सवारीका लागि ४०० र चारपांग्रे सवारीका लागि २०० गाडी अटाउने पार्किङ सुविधा रहनेछ। माथिल्लो स्टेसननजिकै १.८ हेक्टर क्षेत्रफलमा मनोरञ्जन पार्क र मन्दिर परिसरसमेत निर्माण गरिने छ ।

मन्दिर परिसरले २,६१४ वर्गमिटर क्षेत्र ओगट्नेछ । आयोजनापछि निर्माण हुने ‘चम्पादेवी फाउन्डेसन’ मार्फत मन्दिरको स्वामित्व र व्यवस्थापन गरिने प्रस्ताव प्रतिवेदनमा उल्लेख गरिएको छ ।

निर्माण चरणमा ३०० जना र सञ्चालनमा ३१२ जनाको प्रत्यक्ष रोजगारीको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । आयोजनाका लागि दैनिक ९५ हजार लिटर पानी आवश्यक पर्नेछ, जसको स्रोत तल्लो स्टेसन क्षेत्रमा जमिनमुनिको पानी (१.७५ लिटर प्रतिसेकेन्ड) र खार्पा गाउँबाट (४.५ लिटर प्रतिसेकेन्ड) सुनिश्चित गरिने बताइएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार ११:४०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।