Logo

प्रमुख समाचार

विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन नदिने एमालेको निष्कर्ष, यी कारण देखाउँदै सदस्यता नवीकरणमा ब्रेक



काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नवीकरण रोकेको छ ।

एमालेले नवीकरण मात्र होइन कि कुनै पनि दलमा आबद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्म विपरीत हुने समेत स्मरण गराएको हो ।

पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको नवौँ बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिकाअनुसार भण्डारी राजनीतिमा आउने विषयले पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवर्द्धक,सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ’ संविधानलाई उद्धृत गर्दै विज्ञप्तिमा लेखिएको छ ।

राष्ट्रपतिलाई पार्टीमा फर्काउने विषयमा विराम लगाउन एमालेले ८ वटा कारण देखाइएको छ । ‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, संविधानको पालनाकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार ११:२५   :  बजे

393
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।