Logo

प्रमुख समाचार

मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा



काठमाडाैं । सरकारले मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए ।

यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । पानी नपरेपछि मधेश प्रदेशका आठै जिल्ला खडेरीको मारमा परेका छन् ।

यस्तै, अत्यधिक गर्मी बढेपछि पर्सा, बारासहितका जिल्लामा खानेपानीको हाहाकार नै छ ।

मधेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि घोषणा निर्णयमै सीमित देखिएको छ । लामो समयदेखि वर्षा नहुँदा मधेश प्रदेशमा खडेरी परेको हो । सुक्खाकै कारण साउनको पहिलो सातासम्म मधेश प्रदेशमा ४६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

मधेशको कृषि विकास निर्देशनालयका अनुसार सबैभन्दा धेरै पर्सामा ७९.६६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सप्तरी र महोत्तरीमा सबभन्दा कम ३० प्रतिशतमात्रै धान रोपाइँ भएको छ । रौतहटमा ६५ प्रतिशत, बारामा ७५ प्रतिशत, सर्लाहीमा ४३ प्रतिशत, सिरहामा ३४ प्रतिशत, धनुषामा ३५ प्रतिशत मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा ५ लाख ४२ हजार ५ सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धानखेती हुँदै आएको छ । तर, हालसम्म मात्र १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १४:११   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।