Logo

अर्थ

सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण सुरु हुँदै, लागत ६ अर्ब ५४ करोड



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले साविकमा रहेको सिनामंगलस्थित हवाई इन्धन डिपो सार्ने भएको छ । उक्त डिपो काठमाडौं महानगरपालिका वडा नं. ८ गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सारिने भएको हो ।

डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा त्रिभुवन विश्वविद्यालय, ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको कन्सल्टेन्सी सेवालाई दिइएको थियो । २०८१ मंसिर ५ गते भएको सम्झौताअनुसार तयार पारिएको डीपीआर कन्सल्टेन्सी सेवाले हालै निगमलाई हस्तान्तरण गरेको छ ।

नयाँ डिपो पूर्ण रूपमा स्वचालित एल३ स्तरको अटोमेसन युक्त हुनेछ । प्रस्तावित योजनाअनुसार हाललाई ३,००० कि.लि क्षमताका पाँचवटा भर्टिकल ट्याङ्की निर्माण गरिनेछ भने भविष्यमा भण्डारण क्षमता थप गर्न पर्याप्त खाली स्थानको समेत व्यवस्था गरिनेछ ।

त्यस्तै, इन्धन लोडिङ तथा अनलोडिङका लागि क्रमशः ६ र ८ वटा बे निर्माण गरिनेछ । अन्तराष्ट्रिय उडान भर्ने जहाजका लागि ७ वटा पीट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्चर रहनेछन् ।

डिपोमा २,१०० कि.लि क्षमताका दुईवटा स्टाटिक वाटर ट्यांक र पूर्ण स्वचालित फायर फाइटिङ सिस्टम जडान गरिनेछ । यसबाहेक, प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मत सम्भार यार्ड, र सुरक्षार्थ खटिने नेपाली सेनाको लागि छुट्टै आवासीय तथा कार्य कक्षको समेत निर्माण गरिने जनाइएको छ ।

परियोजना अन्तरगत अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (API) र इन्टरनेशनल सेफ्टी डिजाईन (ISD) जस्ता अन्तराष्ट्रिय मापदण्डको पूर्ण पालना गरिने निगमले जानकारी दिएको छ ।

निगमका कार्यालय प्रमुख इन्जिनियर प्रदिप कुमार यादवकाअनुसार २०८१ सालको मङ्सिर महिनाबाट निर्माण कार्य सुरु गरिनेछ । परियोजनाको कुल अनुमानित लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ २० पैसा रहेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १३:१९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।