काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियमकीय पालना नगर्ने संस्थाहरूलाई आर्थिक जरिबाना तथा सचेत गराएको हो ।
सिटिजन्स बैंक इन्टरनेसनलले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ)को करार सम्झौता संशोधन गरी सुविधा वृद्धि गरेपछि बैंकलाई कारबाही गरिएको हो ।
यसैसँगै, फास्ट ट्र्याक लोन अन्तर्गत कर्जाको सदुपयोगबारे आन्तरिक लेखा परीक्षण नगरेको, ब्याजदर अन्तर गलत ढंगले गणना गरेको, नयाँ कर्जा दिएर पुराना कर्जा र ब्याज चुक्ता गरेको, जमानतको समयमा भुक्तानी नगरेको लगायतका गम्भीर त्रुटिहरू भेटिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
बैंकले तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिपोर्टिङ समेत गरेपछि सिटिजन्स बैंक सीईओलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी केन्द्रीय बैंकको कारबाहीमा परेको अर्को वाणिज्य बैंक एनआईसी एसिया हो । बैंकले ऋणीबाट बढी ब्याज असुली गरेको, कर्जा सम्झौतामा आवश्यक विवरण नसमेटिएको तथा ऋणीलाई ब्याजदर परिवर्तनको जानकारी नदिएको पाइएको छ। यस्तो कार्यले पारदर्शिता तथा ग्राहकको हकहित विपरीत जाने भन्दै राष्ट्र बैंकले सचेत गराएको हो ।
त्यस्तै, पोखरा फाइनान्सले अनिवार्य नगद मौज्दात रकम कायम नगरेको भन्दै राष्ट्र बैंकले ३२ लाख ७७ हजार ६७६ रुपैयाँ जरिवाना गरेको छ । फाइनान्सले २७ माघदेखि २३ चैत २०८१ सम्म न्यूनतम मौज्दात नबनाएको पाइएपछि आर्थिक जरिवाना गरिएको हो ।
गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले कर्जा नोक्सानीको वर्गीकरणमा त्रुटि गरेको, बक्यौता असुल गर्न थप कर्जा प्रवाह गरेको लगायतका विषयमा समस्या देखिएको भन्दै सीईओलाई सचेत गराइएको छ ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ को व्यवस्था विपरीत संस्थाले वार्षिक साधारणसभा भन्दा अगाडि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको, साधारणसभामा रिक्त सञ्चालक नियुक्तिका लागि निर्वाचन प्रक्रियामा नगएको र साधारणसभा सकिएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको पाइएपछि सञ्चालक समिति अध्यक्ष तथा सदस्यलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।




















प्रतिक्रिया