Logo

अर्थ

कर्णाली डेभलपमेन्ट बैंक घोटाला: १०९ जनाविरुद्ध मुद्दा दायर, ३ अर्ब बिगो दाबी



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ ।

उच्च अदालतका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार ३ अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

घोटालाका मुख्य अभियुक्त मानिएका बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायमाथि मात्रै २ अर्ब ६३ करोड ३२ लाख रुपैयाँको बिगो र जरिवाना दाबी गरिएको छ ।

त्यस्तै, पशुपति दयाल मिश्रमाथि ८२ करोड ४६ लाख, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतमाथि १० करोड ८९ लाख र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीमाथि २४ करोड ६३ लाख रुपैयाँको बिगो माग गरिएको छ ।

प्रहरीको सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो । सीआईबीको प्रतिवेदन अनुसार १११ जना प्रतिवादीमध्ये हालसम्म ४ जना पक्राउ परिसकेका छन् भने १०४ जना फरार र ३ जनाको मृत्यु भइसकेको छ ।

राष्ट्र बैंकको प्रारम्भिक निष्कर्ष अनुसार २ अर्ब ५० करोड रुपैयाँ बराबरको हिनामिना भएको उजुरी सीआईबीमा परेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १२:३५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।