काठमाडौ ।नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलले नयाँ च्याम्पियन पाएको छ । आज भएको फाइनलमा साविक बिजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो । १५६ रनको लक्ष्य सुदूरपश्चिमले मात्र १३ दशमलव ३ अभरमा विना कुनै विकेट पूरा गरेको हो ।
सुदुरपश्चिमको जितमा जर्ज मुन्सीले ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १ सय २५ रन बनाए। उनी जारी संस्करण शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत बने। यो एनपीएलमा कुनै पनि खेलाडीको सर्वाधिक रन पनि हो । ३ खेल अघि मात्र सुदूरपश्चिमको टोलीमा अनुबन्ध भएका उनले लगातार २ खेलमा खराब प्रदर्शन गरेका थिए । तर आज उनले अतुलनीय प्रदर्शन गरे ।
उनलाइ विनोद भण्डारीले संयमित साथ दिए। भण्डारीले २७ बलमा ३ चौका प्रहार गर्दै ३० रन बनाए। यसअघि सुदुरपश्चिम यो प्रतियोगिताको उद्घाटन खेलमा र पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको थियो। गत सिजनमा समेत सुदूरपश्चिम लुम्बिनीसँग पराजिन हुन पुगेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो।
उसका लागि दीलिप नाथले सर्वाधिक ३९ रन बनाएका थिए। उनले ३१ बलमा ३ छक्का प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले ३० रन बनाउँदा निरोशन डिकवेलाले २८ रन बनाए। त्यस्तै ओपनर ड्यार्सी सर्टले २१ रन बनाए।
सुदुरपश्चिमका लागि स्कट कुग्लिङले २ विकेट लिंदा थरिंदु रत्नायके र दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले १-१ विकेट हात पारे।




















प्रतिक्रिया