काठमाडौं । ठेकेदारसमेत रहेका नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री बनेका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले सोमबार कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी प्रस्तुत गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन उनले पाएका छन्।
मकवानपुरका स्थायी बासिन्दा बानियाँ निर्माण व्यवसायमा पनि सक्रिय छन् । उनी ‘हिराचन बानियाँ जेभी’ र ‘पिएस बानियाँ निर्माण सेवा’ सञ्चालक हुन् । तर, निर्माणको जिम्मा लिएका धेरैजसो योजनामा अलपत्र कामका कारण उनी आलोचित हुँदै आएका छन् ।
विशेषगरी बाजुराको ४१ किलोमिटर लामो मार्तडी–कोल्टी सडक आयोजना लथालिङ्ग छाडिएको आरोप उनकै कम्पनीमाथि लागेको हो। उक्त आयोजनाको २६ किलोमिटर खण्ड विस्तारको जिम्मा पाएको ‘पिएस बानियाँ निर्माण सेवा’ले २०७७ साल असारमा ५० करोड १७ लाख रुपैयाँको ठेक्का सम्झौता गरे पनि हालसम्म करिब डेढ करोड बराबरको मात्रै काम सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालय अछामका अनुसार, ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र काम सकिनु पर्ने थियो । म्याद थपिएको भए पनि हालसम्म करिब ५० प्रतिशत मात्रै प्रगति भएको र बाँकी १३ करोड ५० लाख रुपैयाँ फिर्ता गराउने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
एक साता अघि सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले प्रदेशसभामै यो विषय उठाउँदै अलपत्र निर्माण योजनाको दोषी ठेकेदारलाई पुरस्कृतजस्तै गरी मुख्यमन्त्री बनाउने चलनप्रति आपत्ति जनाएका थिए ।
उनले भनेका थिए, ‘सुनिँदैछ, बानियाँ कन्स्ट्रकसनका मालिक इन्द्र बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुँदैछन् । लाखौँ–करोडको ठेक्का लिई काम नगर्नेहरूलाई पुरस्कृत नगर्न म बागमती प्रदेशका सम्पूर्ण सांसदहरूलाई सुदूरपश्चिम प्रदेशको तर्फबाट आग्रह गर्न चाहन्छु।’
यसअघि मकवानपुरको मनहरी गाउँपालिकामा पनि बानियाँको निर्माण कम्पनीले लिएको पुल निर्माण ढिलाइ भएपछि ‘माननीय ठेकेदार इन्द्र बानियाँज्यू, यो पुल कहिले बन्छ ?’ भन्ने ब्यानरसहित विरोध गरिएको थियो ।
तर, मनहरी गाउँपालिकाकी वरिष्ठ शाखा अधिकृत अञ्जना सुबेदीका अनुसार, उक्त पुलहरू निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।




















प्रतिक्रिया