काठमाडौं । भीमबहादुर गोले तामाङले प्यानलसहित आगामी कार्यकालका लागि पर्यटन यातायात व्यवसायी संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै तामाङले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
उनले संघलाई थप सक्षम, पारदर्शी, र व्यवसायमैत्री बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताए । आफ्नो प्राथमिकतामा पर्यटन यातायात व्यवसायको गुणस्तर सुधार,नयाँ प्रविधिको प्रयोग, चालक र कर्मचारीको सीप विकास, र पर्यटकमैत्री सेवा प्रवर्द्धन रहेको उनले स्पष्ट पारे ।
पर्यटन र यातायात क्षेत्र हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड हो,उनले भने, यसलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन हामी सबैको साथ र सहकार्य आवश्यक छ।उनले संघमा लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र सबै सदस्यहरूको हकहितको सुरक्षा गर्न आफू प्रतिबद्ध रहेको पनि जनाए ।
गोले तामाङको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विनोद तामाङ, उपाध्यक्षमा रामकुमार बस्नेत, महासचिवमा भरत तिमिल्सिना, सचिवमा टेक पुन मगर, र कोषाध्यक्षमा तेजमान लामा रहेका छन्। यसैगरी, सदस्यहरूमा बाजीराम घिमिरे, हरि हुमागाई र विष्णु कार्की लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।
संघको अर्को समूहबाट भने प्रकाश सापकोटाको नाम चर्चामा रहेको छ । सापकोटा समूहले पनि प्यानलसहित निर्वाचनमा भाग लिने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
संघको २२औं साधारणसभा आगामी भदौ ५ गते हुँदैछ, जसले पदाधिकारीसहित ९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । संघको विधानअनुसार, १३ सदस्यीय कार्यसमितिमा एक सह(कोषाध्यक्षसहित बाँकी सदस्यहरू भने अध्यक्षले मनोनयन गर्न पाउने प्रावधान छ ।




















प्रतिक्रिया