Logo

प्रमुख समाचार

रवि लामिछानेको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली राखियो



काठमाडौं । कारागार कार्यालय रुपन्देहीले संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको छ ।

कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे सञ्चारमाध्यममा निरन्तर समाचार आइरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै रुपन्देही कारागार प्रशासनले सूचना जारी गरेको हो ।

लामिछानेलाई राखिएको बन्दी कोठाको झ्याल प्लाइउडले छोपिएको भनेर प्रश्न उठेपछि त्यसलाई हटाएर जाली राखिएको कारागारका प्रशासक बताएकाे छ ।

रास्वपा सभापति लामिछाने पछिल्लो ४ महिनादेखि रुपन्देही कारागारमा थुनामा छन् । कारागारका अनुसार लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहको अलग्गै एउटा कोठामा राखिएको हो । कारागारले उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको तथा उनलाई प्रारम्भ देखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम रहेको जनाएको छ ।

‘उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखि सकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ’, कारागारले जारी गरेको सूचनामा उल्लेख छ ।

कारागार प्रशासकले कारागारमा कुल २५० जना बन्दी राख्ने क्षमता रहेकोमा हाल ६४० जना बन्दी रहेका छन् । क्षमता भन्दा तीन गुणा बढी बन्दीहरू रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अति उत्तम परिचालन गरी कानुन बमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको बताएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १३:४३   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।