Logo

प्रमुख समाचार

सभामुख हटाउन खोजे सशक्त प्रतिवाद गर्ने: विपक्षी दल



विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलाई बिनाकारण सत्तारुढ दलहरू एमाले र कांग्रेसले हटाउने तयारी गरेको भन्दै विपक्षी दलले सशक्त प्रतिवादको तयारी गरेका छन् ।

सभामुख विष्टलाई हटाउने विषयमा गोप्य छलफल सुरु भएको भन्दै विपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)ले एकताबद्ध भएर प्रतिवाद गर्ने सहमति गरेका हुन् ।

कोशी प्रदेशसभास्थित माओवादी संसदीय दलको कार्यालयमा बुधबार दिउँसो बसेको तीन दलका नेताहरू इन्द्रबहादुर आङ्बो, भक्तिप्रसाद सिटौला र राजेन्द्रकुमार राईबिचको बैठकले यस्तो सहमति गरेका हुन् ।

‘कोशी प्रदेशमा सत्तारुढ दलहरूले राप्रपाका सभामुखलाई हटाएर उक्त पद नेपाली कांग्रेसलाई दिने तयारी गरिरहेको बुझिएको छ,’ माओवादी दलका नेता आङ्बोले भने, ‘यस विषयमा विपक्षी दलहरूको बैठक बसेर हटाउन नदिने सहमति गरेका छौं ।’

सभामुख हटाउन महाभियोग लगाउनुपर्ने तर त्यसका लागि कुनै ठोस र वैध कारण हुनुपर्ने विपक्षीको तर्क छ । ‘उहाँले अमर्यादित वा असंवैधानिक काम गर्नुभएको छैन,’ आङ्बोले भने, ‘गणतन्त्रविरोधी वा राजावादी भएको भन्ने हो भने त्यो राप्रपाको घोषित नीति हो । उहाँलाई सभामुख बनाउनु भन्दा अगाडि पनि उहाँहरूको त्यही हो । त्यतिबेला किन बनाएको त ?’

सभामुखको दल (राप्रपा) राजावादी र संघीयता विरोधी भएको कुरा सबैलाई थाहा हुँदाहुँदै तत्कालीन गठबन्धनले सहमतिमा चुनेकोले अहिले त्यसैलाई कारण बनाउन नमिल्ने विपक्षीको जिकिर छ । ‘हामी सत्ता पक्षको यो कदमको सशक्त प्रतिवाद गर्ने र सत्तारुढ दलको योजना सफल हुन नदिने पक्षमा सहमत छौं,’ आङ्बोले भने ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार २१:२१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।