Logo

प्रमुख समाचार

सदनमा देखिएको लडाइँ संवैधानिक निकाय कब्जा गर्न उपसभामुख फेर्न खोजिँदैछ : प्रचण्ड



पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा देखिएको लडाइँलाई आफूहरूले कन्ट्रोल गर्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सदनभित्र लडाइँ चलिरहेको बताए ।

“के व्यवस्थापिका ? के कार्यपालिका ? के अर्को पालिका ? सबै छाडा कस्ले कन्ट्रोल गर्ने ? हामीले कन्ट्रोल गर्नुपर्नेछ,” उनले भने, “देख्नुभयो संघीय निजामती विधेयक मैले १८ महिना लगाएर सदनमा पुर्‍याएको थिएँ । त्यसलाई छेडखानी गर्ने, भाँच्ने कुच्याउने कोसिस गर्ने काम भयो । देख्नुभयो नि कुच्याउनेहरूले राजीनामा दिनुपर्‍यो ।”

प्रतिनिधिसभाका सत्तासीन ठूला दलहरूले खाली कागजमा आफ्ना सांसदहरूलाई हस्ताक्षर गराएका छन् । प्रचण्डले यो कदम संवैधानिक परिषद्बाट संवैधानिक निकाय कब्जा गर्नको लागि चालिएको बताए ।

“अहिले संवैधानिक परिषद्बाट सबै संवैधानिक निकाय कब्जा गरेर जसलाई मन लाग्यो त्यसलाई नियुक्ति गर्ने र जसलाई मन लाग्यो त्यसलाई सिध्याउनका लागि उपसभामुख निकाल्ने कसरत चलिरहेको छ । एमाले–कांग्रेसले उपसभामुख घटाएपछि संवैधानिक परिषद्मा आफ्नो बहुमत हुने र जे मन लाग्यो त्यही निर्णय गर्न पाउने भनेर अघि बढिरहेका छन्,” उनले भने ।

कार्यक्रममा उनले यसलाई हल्कामा नलिन र पार्टीभित्रै पनि यसलाई निर्देशनकै रूपमा लिन र गुटको पछि नलाग्न निर्देशन दिए ।

प्रचण्डले मंसिरपछि देशमा ठूलो सडक आन्दोलन गर्ने चेतावनी दिए । देशमा बिचौलिया, दलालहरूलाई अन्य तरिकाले फाल्न नसक्ने र यसका लागि सडक आन्दोलनै गर्नुपर्ने बताउँदै कार्यकर्ताहरूलाई तयार हुन समेत आग्रह गरे ।

“मंसिरपछि ठूलो सडक आन्दोलनमा जाने तयारी गर्नुछ । अरु कुनै तरिकाले यो दलाल, बिचौलियालाई तह लगाउन सकिने स्थिति छैन् । उनीहरूलाई सडकबाटै जनताको ताकतको बलमा गलत्याउनुपर्ने अवस्था आइलागेको छ र त्यो जिम्मेवारी हामीले लिनुपर्नेछ,” उनले भने, “यो सबै नेताहरूका लागि पनि हो यसलाई हल्कामा नलिनुहोला यो निर्देशन हो । अनि गुटको पछि लागेर खुट्टामा बन्चरो नहान्नुहोला । गुटले कही लादैन कसैलाई विध्वंस पार्नेबाहेक ।”

गुटको पछि लागेर खुट्टामा बन्चरो नहान्न समेत अनुरोध गरे । अब गुटको नाममा विध्वंश मच्याउनेलाई छुट दिन नसक्ने भन्दै गुटको बैठक गर्ने, पार्टीको नीति, निर्णय र नेतृत्वका विरुद्ध सार्वजानिक रूपमा गालीगलौज गर्नेलाई बर्खास्त गर्न नसकिने बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार ०७:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।