काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जेनजीका माग संविधानभित्रैबाट समाधान हुनसक्ने बताएका छन् । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र अन्योलका विषयमा विज्ञप्ति जारी गरी डा. कोइरालाले संविधानभित्रैबाट खोजिने समाधान जेनजीका लागि मान्य हुने विश्वास व्यक्त गरेका छन् ।
“जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्न सकिनेमा मेरो दृढ विश्वास छ,” डा शशांकले भनेका छन्, “करिब ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्न अपिल गर्दछु ।”
उनले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी युवाहरूले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन जाहेर गरेका छन् । “जहानीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु,” कोइरालाले भनेका छन् ।
उनले आन्दोलनपश्चात मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल अन्त्य गर्नुपर्ने बताएका छन् । यसका लागि सहमति सहकार्य र एकताको सुत्र अपनाउनुपर्ने उनको सुझाव छ ।
“यसका लागि देशभित्रका सबै पक्षबीच सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गद्वारा शान्तिपूर्ण समाधान निकाल्नु आजको आवश्यकता हो,” उनले भने, “यसतर्फ जेनजी युवाहरूको पूर्ण सकारात्मक भूमिका रहने विश्वास व्यक्त गर्दछु ।” उनले संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलको पहल सराहनीय भएको भन्दै त्यसमा सबैको साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन् ।




















प्रतिक्रिया