काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेका छन् । जेनजी आन्दोलनले पुरानो नेतृत्वप्रति जनआक्रोश प्रकट गरेकाले नेतृत्व परिवर्तन अपरिहार्य भएको उनको भनाइ छ ।
शर्माले पार्टी पंक्तिमा छलफल सुरु गरेका छन् भने उनले सुशासन, भ्रष्टाचार विरुद्ध छानबिन आयोग गठनको मागसमेत दोहोर्याएका छन् । जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका प्रचण्डले भने पार्टी कार्यालयको अवलोकन गरेका ।
यसअघि शर्माले साउनमा बसेको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डको नेतृत्वमा प्रश्न उठाएका थिए, तर त्यो बहुमतले अस्वीकार गरिएको थियो । प्रचण्ड पक्षले भने शर्मामाथि अराजकता फैलाएको आरोप लगाउँदै आएका छन् ।
जेनजी आन्दोलनबारे जनार्दनको संश्लेषण र आगामी बाटो यस्तो छ:
१. जेन जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, सँस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ ।
२. यसले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको छ ।
३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।
४. पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ ।
५. २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरुको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ ।
६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।
७. नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ ।
८. कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।
९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ ।
१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रुपमा उठाउनुपर्छ ।
११. पार्टी भित्रका दलित महिलाका समस्याहरु समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ ।
१२. साँस्कृतिक बिचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ ।
१३. शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षण सम्बन्धी नीति तय गर्नुपर्छ ।
१४. श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ ।
१५. राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।
१६. उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको संगठन बनाउनुपर्छ ।





















प्रतिक्रिया