काठमाडौं । चलचित्रहरूमा प्राय कथाहरू काल्पनिक नै हुन्छन् । दर्शकले चलचित्रका दृश्यमा डुबेर अनुभव गर्ने हो भने वास्तविकता झैँ लाग्छ । अनि दृश्यसँगै आँसु र हाँसो पनि आइदिन्छ ।
नेपाली समाजको जटिल यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्र कोशेढुंगा सामाजिक, राजनीतिक र मानवीय संवेदनाको सङ्गम देखिन्छ । निर्देशकले कथावस्तु र प्रस्तुतीकरणमार्फत दर्शकलाई केवल मनोरञ्जनमा सीमित नगरी सोच्न, आत्म मन्थन गर्न र आँसु झार्न बाध्य बनाउने वातावरण तयार पारेको छ ।
फिल्मको कथा ग्रामीण समाजमा राजनीतिले पारेको असरका अवस्था वरिपरि घुम्छ । युद्धमा छोरी गुमाएका एक वृद्धको परिवारमा परेको पीडाले कथा भावुक बनाएको छ । यसैका माध्यमबाट निर्देशकले मुलुकमा संरचनात्मक परिवर्तनको आवश्यकता र राजनीतिकले समाजलाई गर्ने प्रभावलाई पनि दर्शकसमक्ष उजागर गरेका छन् ।
निर्देशकले विषयवस्तुलाई सरल तर प्रभावकारी ढङ्गले उतारेको भान हुन्छ । दृश्यहरूमा वास्तविक जीवनकै चित्रण भएको अनुभूति हुन्छ । विशेष गरी गाउँको वातावरण, मानिसहरूको अभावग्रस्त जीवनशैली र आशा–निराशाका द्वन्द्वलाई छायाङ्कनले नै बलियो बनाएको छ । युवापुस्ताको जीवन शैली र पुरातन सोचलाई पनि चलचित्रले उठाएको देखिन्छ ।
कलाकारहरूले आफ्नो भूमिकामा जीवन्तता भरेका छन् । मुख्य पात्रहरूले भोगाइ र पीडालाई यति सशक्त रूपमा उतारेका छन् कि दर्शक आफैँ कथाको हिस्सा बनेको अनुभूति गर्छ । विशेष गरी अन्त्यतिरको वियोगान्त दृश्यले दर्शकलाई भाव विह्वल बनाउँछ ।
फिल्मका गीतहरू मनोरञ्जनका लागि नभई कथावस्तुको भावनात्मक विस्तारका रूपमा प्रस्तुत भएका छन् । सङ्गीतले कथाको लयलाई तोड्न होइन, अझै गहिरो बनाउन योगदान पुर्याएको छ ।
कोशेढुंगाले दर्शकलाई कहिले त गाउँको गरिबी, कहिले त परिवारभित्रको द्वन्द्व, र कहिले त राजनीतिले ल्याएको विनाशकारी अवस्थाले छोएर आँसु खसाल्छ । बुधवार बानेश्वरको आईपेक्स महलमा पुगेकी बानेश्वर निवासी रोजिना गौतमले भनेझैँ, दुई दृश्यमा आँसु रोक्न नसकिने अवस्था आउँछ भने अन्तिमको वियोगान्तले हृदय विदारक अनुभूति दिन्छ । नेपाली समाजलाई ऐना देखाउने खालको कोशेढुंगा केवल मनोरञ्जनको फिल्म मात्र होइन, चेतना जगाउने दस्ताबेज हो भन्दा हुन्छ ।
यसले राजनीतिक अस्थिरताले सिर्जना गर्ने सामाजिक पीडा, आशा र निराशा, प्रेम र वियोग सबैलाई एउटै कथामा उनिएको देखाउँछ ।



















प्रतिक्रिया