Logo

प्रमुख समाचार

नेपाल वायु सेवा निगमको ग्वान्झाउ उडान अन्तिम समयमा स्थगित



काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्वान्झाउ (चीन) उडान अन्तिम समयमा आएर स्थगित भएको छ । निगमको आफ्नै खर्चमा गएराति चीन जान लागेको ३९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको उडान अस्थायी रूपमा रोकिएको हो ।

उडान शुक्रबार राति १० बजेका लागि निर्धारित थियो, बोर्डिङ पाससमेत वितरण भइसकेको अवस्थामा यात्रुहरूलाई अचानक उडान स्थगन गरिएको जानकारी दिइएको र उनीहरूलाई होटलमा राखिएको निगम स्रोतले जानकारी दिएको छ ।

हालसम्म उडान स्थगनको आधिकारिक कारण सार्वजनिक नभए पनि एक अधिकारीले चीनको नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक उडान योजना (फ्लाइट प्लान) को स्वीकृति समयमा नआएकाले उडान रोकिएको बताए। नेपाल एयरलाइन्सले एक संक्षिप्त सूचनामार्फत उडान आज (शुक्रबार) दिउँसो १:३० बजेसम्मका लागि सारिएको जानकारी दिएको छ, तर स्पष्ट कारण उल्लेख गरिएको छैन ।

यो भ्रमण टोलीमा पर्यटन मन्त्रालयका एक प्रतिनिधि, निगमका सञ्चालक तथा पदाधिकारी, ट्राभल एजेन्सीका प्रतिनिधि, कलाकार, पत्रकारसहितका व्यक्तिहरू सहभागी थिए। सांस्कृतिक कार्यक्रममा भाग लिन क्याबिन क्रु बाहेक ८ जनालाई विशेष रूपमा चयन गरिएको थियो ।

चार दिनको भ्रमण तालिका रहेको यो भ्रमण सेप्टेम्बर २९ मा नेपाल फर्कने योजनाका साथ तय गरिएको थियो । तर, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सरकारी खर्च कटौतीको नीति अघि सारेको वर्तमान अवस्थामा निगमको खर्चमा यति ठूलो टोली विदेश भ्रमणमा पठाउन लागेको भन्दै आलोचना सुरु भएको छ ।

यात्रुहरू अझै होटलमै छन् र दिनको १:३० बजेको नयाँ तालिकाअनुसार उडान हुने आशमा छन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १०:२०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।