काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टकाअनुसार बैठकले विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका तत्काल गरिने कार्यहरू तय गरेको छ।
उनका अनुसार, घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्राधिकरणबाट तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
सडक तथा अत्यावश्यक सेवा सुचारु गर्ने सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय निकायहरूले सडक, खानेपानी, विद्युत्, सञ्चार लगायतका सेवा सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले सहयोग गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।
भट्टले विपद्पछि महामारी फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसलाई नियन्त्रण गर्न सङ्घ सरकार र प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा पहल गरी आवश्यक काम गर्ने निर्णय भएको बताए।



















प्रतिक्रिया