लहान । सिरहाको नवराजपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ को उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा नं.५ लाई ४२ रनले पराजित गर्दै वडा नं.४ च्याम्पियन बनेको हो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नं.४ ले निर्धारित खेलमा १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको वडा नं.५ को टोली १६.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो। यससँगै वडा नं.४ ले उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।
प्रतियोगिताको समापन गाउँपालिका अध्यक्ष शिव उदगार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका जनप्रतिनिधि, पूर्व उपाध्यक्ष शोभा यादव, प्रमुख प्रशासकीय अधिकृत, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैतालगायत जनप्रतिनिधि, राजनीतिकर्मी, युवा तथा खेलप्रेमीहरूको उपस्थिति थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । उत्कृष्ट ब्याट्सम्यान जितेन्द्र प्रसाद यादव घोषित भए भने वडा नं.५ का कप्तान सेन्डिलले उत्कृष्ट बलर र प्लेयर अफ द टुर्नामेन्टको उपाधि जिते। त्यस्तै उत्कृष्ट फिल्डर मनिष यादव बने भने फाइनल खेलका उत्कृष्ट खेलाडी मिथिलेश सिंह घोषित भए। क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादवलाई पनि सम्मान गरिएको थियो ।
स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउने, नयाँ क्रिकेट प्रतिभाको पहिचान गर्ने तथा आपसी सद्भाव र एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको सफल समापनसँगै आयोजकले सहभागी खेलाडी, सहयोगी, अतिथि तथा दर्शकप्रति आभार व्यक्त गरेको छ ।




















प्रतिक्रिया