Logo

प्रमुख समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

दाङ घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाले एमआरआइ मेसिन खरिदमा भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनीहरूमाथि १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप छ ।

अख्तियारले भण्डारीसहित प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी लगायत विरुद्ध कैद र विगो जरिवाना सजाय मागदाबी गरेको छ ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत श्रीराम चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका आईटी अफिसर हिरालाल भण्डारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिभिल इन्जिनियर मदन भण्डारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारका अनुसार भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा थप राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन वरिष्ठ सहायक अञ्जु शर्मा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन वायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीको मुख्य भई काम गर्ने अध्यक्ष पोष्टराज ज्ञवाली समेत रहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १३:४०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।