काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेन–जी विद्रोहले नेपाली काँग्रेसभित्र पुराना र बुढा अनुहारलाई ससम्मान विदाई गर्नुपर्ने र युवालाई अगाडि बढाउनुपर्ने माग बढेको छ ।
यो आन्दोलनले काँग्रेसमा जेन–जी पुस्ताभित्र नपरे पनि महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको काँधमा अबको नेतृत्व जानुपर्ने आवाज उठ्न थालेको छ । यो आवाजमा पार्टीको नेतृत्व शर्मा र सरकारको नेतृत्व थापालाई भन्ने आवाज उठेको छ । यो आवाज असन्तुष्टि र पूर्वाग्रहको नभै आम पार्टीभित्रका युवाहरुको दीर्घकालीन चाहना हो ।
जेन–जी आन्दोलनले काँग्रेसका शीर्ष नेताहरुको कुकर्मको छिनोफानो समेत गरेको छ । काँग्रेसमा पुराना नेताहरुले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न आनाकानी गर्दा पार्टी सभापति शेरबहादुर देउवा आन्दोलनकारीको निशानामा परे ।
विश्व इतिहासलाई हेर्ने हो भने समयमै पदत्याग गर्ने नेताहरु सम्मानित र कुर्चीमोह गर्नेहरु अस्वीकृत भएका छन् ।
नेपालको अहिलेको अवस्थालाई हेर्ने हो भने सभापति देउवा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. शेखर कोइरालालगायतका नेताहरु अब जनताबाट अस्वीकृत हुने संभावना बढेको छ ।
काँग्रेसमा मौलाएको गुटगत राजनीति, पद लोलुपता र आफ्नो स्वार्थपूर्ति गर्ने प्रवृत्तिले पार्टीलाई संस्थागत संकटमा पु¥याएको छ । पार्टी नेताहरुका झोले र भरौटे कार्यकर्ताहरुबाहेक काँग्रेसको समग्र राजनीतिमा अन्यलाई न्याय भएको देखिँदैन ।
काँग्रेसमा न्याय नपाएका, उपेक्षित बनेका र दबाइएका पुस्ताले विद्रोह गरे भने त्यो विद्रोहले पूरै काँग्रेस भष्म हुन सक्छ । तसर्थ यिनै सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै काँग्रेसभित्र पुस्तान्तरण हुनु जरुरी छ ।
देश, जनता पार्टी जहाँसुकै जाओस तर मेरो पद सुरक्षित रहनुपर्छ, मैले मात्रै सत्तामा रमाउन र कमाउनु पर्दछ भन्ने मानसिकताले जरो गाड्दा रमेश लेखक र आरजु राणाको राजनीति उठ्नै नसक्ने अवस्थामा पुगेको छ ।
यसैवीच काँग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान शुरु गरेको बताइएको छ । ४० प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन भएपछि सभापति देउवा एक कदम पछाडि हटेको र विश्वप्रकाशलाई पार्टी र गगनलाई सरकारको नेतृत्व दिनुपर्ने बहस शुरु भएको छ ।
खड्काले पाउलान् काँग्रेसमा का.वा. सभापति ?
जेन–जी आन्दोलनपछि संसदको सबैभन्दा ठूला दलको हैसियत र राज्यसत्ता दुबै एकैचोटी नेपाली काँग्रेसले गुमाएको छ । यो आन्दोलनले पुराना अनुहारको राजनीतिक हैसियत र कृयाकलापले नेताहरु सच्चिने कि सक्किने भन्ने गम्भीर प्रश्नहरु पनि तेस्र्याएको छ ।
जेन–जी आन्दोलनले गरेको विद्रोहले २७ घण्टामा राज्यसत्ता ढालेर विश्वमा नयाँ रेकर्ड समेत कायम गरेको छ । पुरानो अनुहारले पटक–पटक युवा पुस्ताको भावनालाई बुझ्ने कोशिस नगर्दा निम्तिएको यो परिस्थितिमा काँग्रेस अब कसरी अघि बढ्छ, फागुन २१ गतेको चुनावमा जानुअघि नेतृत्व परिवर्तन गर्छ कि गर्दैन र आन्तरिक रुपान्तरणतर्फ अघि बढ्छ कि बढ्दैन भन्ने बहस शुरु भएको छ ।
काँग्रेसमा सभापति शेरबहादुर देउवाले आफ्नो अनुहारमा लागेको दाग हटाउन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएर महाधिवेशनमा जानुपर्दछ भन्ने मत बलियो रहेको छ ।
काँग्रेसको १५औं महाधिवेशनको तिथिमिति २०८२ मंसिरमै हुनुपर्ने थियो । सभापति देउवाको पद लोलुपताको कारण अब यो मंसिरमा गर्न सम्भव नरहेको वताइएको छ । एउटै मात्रै नेताको वरिपरि प्रधानमन्त्री र सभापति पद घुमिरहँदा जनतामा निराशा देखिएको र व्यापक असन्तुष्टि बढेको जानकारहरुले बताएका छन् ।
जेन–जी आन्दोलनपछि काँग्रेसका देउवा पक्षीय नेताहरुले पनि रुपान्तरणका दबाब दिने र सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् । त्यसैले सभापति देउवालाई उमेरले पनि साथ नदिएको र आराम गर्नुपर्ने चर्चा चलेको छ । पार्टीको १५औं महाधिवेशनमा वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन कुमार थापाबीच सहमति भै सभापति बन्न सके जयनेपालको नाराले नेपाल ब्यूँझने र काँग्रेसले पनि काँचुली फेर्ने जानकारहरुले बताएका छन् ।
अब काँग्रेस जेन–जीले सिकाएको पाठ अनुसार सबैलाई समेटेर गुट–उपगुटरहित तरिकाले अघि बढ्न सके काँग्रेसको भविष्य उज्वल रहेको बताइएको आजको नयाँ विमर्शमा समाचार छ ।



















प्रतिक्रिया