काठमाडौँ । कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतबार आयोजित एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा फिल्मलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ । ट्रेलरले सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, विछोड र सामाजिक संघर्षको कथामा फिल्म बनेको संकेत दिन्छ ।
‘झरी’पछि आउने ‘इन्द्रेणी’लाई खुसीको रूपमा लिइन्छ । फिल्मको कथाका मुख्य सार पनि यही रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेका छन् ।
ट्रेलरमा उनलाई एक परिपक्व र संघर्षशील पारिवारिक पात्रको रूपमा पनि देखाइएको छ । ट्रेलरमा जेनजी आन्दोलसम्बन्धी केही दृश्यहरू पनि छन् ।
फिल्ममा गणेशको अलवा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, प्रियना आचार्यका साथै निर्देशक घिमिरेको अभिनय छ ।
फिल्ममार्फत नव कलाकार बिमोञ्चम दवाडी र जेसिका पोखरेल नेपाली रजतपटमा डेब्यु गर्दैछन् । कार्यक्रममा निर्देशक घिमिरेले फिल्मले समाजको कथा भन्ने बताए ।
‘कथा सबैको जीवनसँग मेल खान सक्छ, कथालाई फरक तरिकाबाट हामीले पेस गरेका छौँ,’ उनले भने । फिल्म सबैले रुचाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।




















प्रतिक्रिया