काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीहरूलाई लक्षित गरी भइरहेका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै सरकार, राष्ट्र बैंक र वित्तीय संस्थाहरूको संयुक्त प्रयासबाट सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको अवस्थामा सामाजिक सुरक्षा भत्ता, विप्रेषण र बचत जस्ता आधारभूत सेवा प्रभावित हुने गरी कुनै पनि क्रियाकलाप नगर्न सचेत गराएको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को अधिनमा रही कर्जा प्रवाह गर्नु, परियोजनाको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु बैंकहरूको प्रमुख कार्य भएको समेत विज्ञप्तिमा स्मरण गराइएको छ।
राष्ट्र बैंकले बैंकहरूले सर्वसाधारणबाट संकलन गरेको निक्षेप नै कर्जाका रूपमा लगानी गर्ने भएकाले ऋणीले समयमा कर्जा भुक्तानी नगर्दा निक्षेपकर्ताको रकम फिर्ता गर्न समस्या हुने र समग्र तरलतामा गम्भीर प्रभाव पर्ने स्पष्ट पारेको छ।
कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा असहजता भएमा राष्ट्र बैंकले समय-समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण जस्ता सुविधामार्फत सहजीकरण गर्दै आएको र बैंकिङ कारोबारमा कुनै गुनासो भएमा सम्बन्धित संस्था वा राष्ट्र बैंककै गुनासो सुनुवाइ संयन्त्रमा उजुरी गर्न सकिने व्यवस्था रहेको जनाइएको छ। आधिकारिक बाटो छोडेर गरिने गैरजिम्मेवार व्यवहारले वित्तीय साधन परिचालनमा कठिनाइ उत्पन्न गर्नेतर्फ राष्ट्र बैंकले सबैको ध्यान आकर्षित गरेको छ।
अन्तमा, वित्तीय संस्था र कर्मचारीविरुद्ध उच्छृङ्खल गतिविधिमा संलग्न हुने व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै राष्ट्र बैंकले यस्ता गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ।
वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई कुनै पनि प्रकारको दबाब वा त्रास नमानी उच्च मनोबलका साथ आफ्नो कार्य सम्पादन गर्न अनुरोध गर्दै केन्द्रीय बैंकले वित्तीय सेवाको सुरक्षा र निरन्तरताका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।





















प्रतिक्रिया