काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन्।
ललितपुरको कुपण्डोलमा शुक्रबार बिहान भएको छलफलपछि जारी विज्ञप्तिमा उनीहरूले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ। अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै नयाँ ऊर्जा र सोचका साथ संवाद र सहमतिबाट बृहत एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौँ।”
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउनु आवश्यक रहेको उनीहरूको जोड छ। परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणसहित निर्वाचनमा जानुपर्ने आवश्यकता पनि उनीहरूले औँल्याएका छन्।
उक्त समूहले यसअघि निर्वाचनअघि नै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गर्दै आएको थियो। सोही क्रममा २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरेको समूहले त्यसअघि १८ पुसमा सभापति शेरबहादुर देउवा तथा सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि भेटघाट गरेको थियो।
१५औँ महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला उक्त २५ सदस्यीय समूह निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने अडानमा उभिएको छ।





















प्रतिक्रिया