काठमाडौँ । संसदीय निर्वाचनमा १२ वर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालमेलविना प्रतिस्पर्धा गर्ने आँट देखाउन थालेका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आसन्न निर्वाचनमा कसैसँग तालमेल नगर्ने नीति अख्तियार गर्ने तयारी थालेका हुन् ।
पुस २२ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी एकतामा जोडिएका घटकहरूको परामर्श बैठकमा आगामी फागुन २१ मा हुने निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले एकल उम्मेदवारी दिने निष्कर्ष निकाल्यो ।
बैठकपछि सञ्चारकर्मीले गठबन्धन बनाउने विषयमा सोधेको प्रश्नमा संयोजक प्रचण्डले कांग्रेस या एमालेसँग कुनै गठबन्धन नहुने जिकिर गरे । ‘कुनै गठबन्धन हुँदैन । तपाईंहरूले यो कुरा प्रस्ट लेखिदिए हुन्छ, बोलिदिए हुन्छ’, उनले भनेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र पूर्वमन्त्री कुलमान घिसिङबिच भएको एकताले आफूहरू नडराएको पनि उनले दाबी गरे । आवश्यक परेको खण्डमा रविसँग कुरा गर्न केही अप्ठ्यारो नभएको उनको भनाइ थियो ।
प्रचण्डले भनेका थिए, ‘हामी बालेन र रविको गठबन्धनबाट विल्कुल डराएका छैनौँ । रविलाई धेरै अप्ठ्यारो स्थितिबाट मैले डिफेन्स गर्दै आएको हो । मेरो क्याबिनेटमा दुईचोटी गृहमन्त्री बनाएको हो । त्यसकारण उनीहरूबिच गठबन्धन भएर म किन डराउने ? उहाँहरूसँग कुरा गर्न मलाई केही आइतबार पर्खिनुपर्ने छैन ।’
२०७० भन्दा यताका हरेक निर्वाचनमा कहिले कांग्रेस र कहिले एमालेसँग गठजोड गरी सत्ता राजनीतिको ‘च्याँखे दाउ’ थाप्न सफल देखिएका प्रचण्ड योपटक चुनावी गठबन्धन नगर्ने निर्णयमा अन्तिमसम्म टिक्छन् कि टिक्दैनन् भन्नेमा राजनीतिक विश्लेषकलहरूले संदेह व्यक्त गरेका छन् । विश्लेषक मुमाराम खनाल प्रचण्डको विगत हेर्दा तालमेल नगरी निर्वाचनमा जाने विश्वसनीय आधार नदेखिएको बताउँछन् ।योपटक निर्वाचनमा कांग्रेस, एमाले, नेकपा, मधेसी दलहरूको हालत खराब देखिने खनालको विश्लेषण छ । यद्यपि सत्तामा नयाँ दलहरू आए पनि देश थप दुर्घटनामा जाने जोखिम रहेको उनको विश्लेषण छ ।
‘गाउँ–सहर सबैतिर नागरिकका कुरा सुन्दा पुराना दलहरूको योपटक अवस्था नाजुक देखिन्छ । जस्तोसुकै चोर, फटाहा, ठग भए पनि पुरानाभन्दा नयाँ ल्याउनुपर्छ भन्ने मनोविज्ञान पाएको छु । पाँच वर्षका लागि नयाँ त आउन सक्छन् तर उनीहरूको चरित्र, काम गर्ने शैली हेर्दा देश थप दुर्घटनामा जानसक्ने देख्छु’, खनालले भने ।
पेरिसडाँडाको परामर्श बैठकमा सहभागी भएका नेता राजेन्द्र श्रेष्ठले निर्वाचनमा कांग्रेस, एमाले या रास्वपा कसैसँग पनि तालमेल नगर्ने निर्णय नै भएको जिकिर गरे । आफूले रोजेको दल वा उम्मेदवारलाई रोज्ने अधिकारलाई कुन्ठित गर्ने पक्षमा नेकपा नरहेको श्रेष्ठ बताउँछन् ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचनमा कसैसँग पनि चुनावी गठबन्धन नगर्ने निर्णय भएको छ । विचार तथा सिद्धान्त मिल्ने दलहरूसँग एकता र ध्रुवीकरणको क्रम जारी नै छ’, उनले भने, ‘एमाले–कांग्रेस वा नयाँ दल कसैसँग तालमेल हुँदैन ।
एक्लै प्रतिस्पर्धा गर्छौं । कसको शक्ति कति छ भनेर जनताले पनि थाहा पाउनुपर्याे । हामी अहिले एउटै कम्युनिस्ट केन्द्र बनाउने काममा लागिरहेका छौँ ।’
पुस मसान्तसम्म अझै केही दल एकतामा जोडिन लागेको जानकारी दिँदै उनले कांग्रेस र एमालेले गठबन्धन नै बनाए पनि नेकपाको पक्षमा राम्रो नतिजा आउने दाबी गरे । योपटक नेकपा, कांग्रेस, एमाले र रास्वपाबिच प्रतिस्पर्धा हुनसक्ने उनले बताए ।





















प्रतिक्रिया