काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकतामा सहमति जुट्न नसकेपछि उज्यालो नेपाल पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
विगतमा भएको सहमति कार्यान्वयन र पूरक सम्झौताबाट रास्वपा पछि हटेपछि दुई पार्टीबीचको सहकार्य टुटेको दुवै पक्षले जनाएका छन्।
सहकार्य अन्त्य भएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ। उता उज्यालो नेपाल पार्टीको आकस्मिक केन्द्रीय कमिटी बैठक पनि बसिरहेको छ। उनेपाका नेता गणेश घिसिङका अनुसार जारी बैठकले कुलमान घिसिङलाई पार्टी अध्यक्ष घोषणा गर्ने निर्णय गर्ने तयारी गरेको छ।
उक्त निर्णयपछि कुलमानले आज साढे पाँच बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ।
‘रास्वपाले धोका दियो, त्यसैले सहकार्य सम्भव भएन,’ कुलमान निकट नेता गणेश घिसिङले भने, ‘संविधान मान्छु भन्ने तर संविधानको मर्मअनुसार चल्न नखोज्ने प्रवृत्ति देखियो।’
स्रोतका अनुसार, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता आधारभूत सैद्धान्तिक विषयमा रास्वपाले असहमति जनाएपछि सहकार्य भंग भएको हो। तर, रास्वपा पक्षले भने उज्यालो नेपाल र कुलमान घिसिङ पक्षले आफ्नो हैसियतभन्दा बढी भागबन्डा खोजेको र नेतृत्वमा समेत अतिरिक्त दाबी नछोडेकाले एकता सम्भव नभएको दाबी गरेको छ।
गत पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको थियो।





















प्रतिक्रिया